बालुवाटारमा नेकपाका अध्यक्षद्वय ओली र प्रचण्ड भेट, स्थायी समितिका एजेण्डा तय
Wednesday, September 9th, 2020, 3:07 pm
काठमाण्डौ, २४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठकका लागि एजेण्डा तय गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच बुधबार भएको भेटमा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन नै स्थायी कमिटिका एजेण्डा हुने बताइएको छ।
यसअघि भदौ १८ गते बसेको सचिवालय बैठकले दुई अध्यक्षलाई कार्यदलको प्रतिवेदनलाई परिमार्जन गर्ने जिम्मेवारी दिएको थियो।
सचिवालयमा आएका सुझावलाई समेटेर प्रतिवेदन तयार पार्नसमेत सचिवालयले भनेको थियो। पार्टीभित्रको विवादका कारण गत साउन १३ गते बस्ने भनेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।
सोही दिन प्रचण्डको अध्यक्षतामा प्रधानमन्त्री ओलीइतरका २९ जना स्थायी कमिटी सदस्यहरूको बैठक बसेको थियो।
साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेसँगै नेकपा विवाद समाधानको दिशामा गएको थियो भने कार्यदलले भदौ ६ गते दुई अध्यक्षलाई प्रतिवेदन बुझाएको थियो।