मन्त्री पुनले भने, ‘विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुनेछ’
Wednesday, September 9th, 2020, 2:54 pm
रोल्पा, २४ भदौ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति छिट्टै हुने बताएका छन्।
प्रेस सङ्गठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पुनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताएका छन्।
त्यस्तै कुलमानको पुनर्नियुक्तिका विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको र कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता नभएको बताएका छन्।