नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालामा पनि कोरोना संक्रमण पुष्टि
Tuesday, September 8th, 2020, 6:22 pm
काठमाण्डौ, २३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो।
सोमबार डा. कोइरालालाई ज्वरो आएपछि कोरोनाको आशंकामा स्वाब संकलन गरी धुम्बराहीस्थित ह्याम्स अस्पतालमा र परिवारसहित सुरक्षाकर्मीलगायत १९ जनाको स्वाब स्टार अस्पतालमा परीक्षणका लागि दिइएको थियो।
महाराजगञ्ज स्रोतका अनुसार डा. कोइरालाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आए पनि अन्य १९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
डा.कोइरालाले केही बेरपछि वक्तव्य जारी गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिने तयारी गरेका छन् भने अहिले उनको अवस्था सामान्य रहेको स्रोतले बताएको छ।