अब बैंक तथा वित्तीय संस्थाले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने
Tuesday, September 8th, 2020, 6:04 pm
काठमाण्डौ, २३ भदौ । नेपाल राष्ट्र बैंकले घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाका लागि राष्ट्र बैंकले घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिदैँ मंगलबार एकीकृत निर्देशन जारी गरेको छ।
बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउने र बढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे।
ब्याजदर चाडो चाडो बढ्दा किस्ता तिर्नै समस्या परेको भन्दै ऋणीले दुखेसो पोख्ने गरेका थिए । तर अब राष्ट्र बैंकको यो निर्देशनसँगै घर तथा गाडी कर्जा लिनेलाई केही राहत हुने भएको छ।
यसैगरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यी शीर्षकको ब्याजदर भने हरेक ६/६ महिनामा प्रकाशित गर्न निर्देशन पनि दिएको छ।