बेलायतमा नयाँ कोरोना संक्रमितको संख्या मेयताकै धेरै
Monday, September 7th, 2020, 2:39 pm
एजेन्सी, २२ भदौ । बेलायतमा आइतबार गत मे २२ यताकै सबैभन्दा धेरै नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन्।
बेलायतको सरकारी तथ्यांक अनुसार बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ९८८ नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा बेलायतमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या आधाले बढेको हो।
बेलायतका स्वास्थ्यमन्त्री म्याट हानककले पछिल्लो समय युवाहरुमा कोरोना भाइरसको संक्रमण फैलिएकोमा चिन्ता व्यक्त गरेका छन्।
हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या ३ लाख ४७ हजार १५२ पुगेको छ भने कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि ४१ हजार ५५१ पुगेको छ।