सीपीएलको समूहगत चरणको अन्तिम खेलमा सन्दिप आबद्ध जमैकाको हार
Monday, September 7th, 2020, 12:24 pm
एजेन्सी, २२ भदौ । नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध जमैका ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ। सन्दीप लामिछानेले सेन्ट लुसिया जोउक्ससितको खेलमा एक विकेट लिएका छन्। यद्यपि समूह चरणको अन्तिम खेलमा सन्दीप आबद्ध जमैका तलावाज भने सेन्ट लुसियासित ११ रनले पराजित भएको छ।
सो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सेन्ट लुसियाले ६ विकेट गुमाएर १४५ रन बनाएको थियो भने १ सय ४६ रनको लक्ष्य पछ्याएको जमैकाले भने ९ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो।
त्यस्तै जमैकाका लागि सन्दीप लामिछानेले रखिम कर्नवेलको विकेट लिएका हुन्। सन्दीपले सो खेलमा चार ओभर बलिङ गर्दै एक मेडन राखेर मात्र २० रन खर्चिए । यसैगरी सन्दीपले सीपीएलमा हालसम्म १० खेलमा १२ विकेट लिएका छन्।
जमैकाले अब सेमिफाइनल खेल मङ्गलबार ट्रिबागो नाइट राइडर्ससित खेल्नेछ।