मलको ठेक्का लिएका २ कम्पनीको धरौटी जफत गरी कालोसूचीमा राखिने
Sunday, September 6th, 2020, 1:42 pm
काठमाण्डौ, २० भदौ । गत बर्षको पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नर्पुयाउने दुईवटा ठेकदार कम्पनीको ५÷५ करोड रुपैयाँ धरौटी सरकारले जफत गर्ने भएको छ । यी दुवै कम्पनीलाई कालोसूचीमा राख्नका लागि समेत कृषि मन्त्रालयले सिफारिस गर्ने भएको छ।
स्रोतका अनुसार आइतबार कृषि सामग्री कम्पनी लिमिटेडको बैठक बसेर दुवै ठेकेदारको धरौटी जफत गर्न लागिएको हो।
शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीलाई गत पुसमा वर्षायामको मल आपूर्तिका लागि संस्थानले ठेक्का दिएको थियो । तर उनीहरूले मल आपूर्ति गर्नुपर्ने अन्तिम डेटलाइन सकिइसकेको र हालसम्म पनि आपूर्ति गर्न नसकेका कारण दुवै कम्पनीलाई कारबाही गर्न लागिएको स्रोतले बताएको छ।
मलको ठेक्का हात पार्ने शैलुङ कस्ट्रक्सनका शारदाप्रसाद अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी । उनले माओवादीको प्रभाव प्रयोग गरेर ठेक्काहरू हात पार्ने गरेको र मलमा पनि त्यस्तै प्रभावको प्रयोग भएको स्रोतको दाबी छ। त्यसैगरी अर्को होविको मल्टिपल कम्पनीका होमनाथ कोइराला नेपाली कांग्रेस निकट ठेकदार मानिन्छन्।
मलको आपूर्ति र वितरण दुवैमा गडबडी हुने गरेको निष्कर्ष निकाल्दै कृषि मन्त्रालयले दुवै ठेकदारलाई कारबाही गरी धरौटी जफत गर्ने र कालो सूचीमा राख्ने निर्णय गर्न लागेको स्रोतले बताएको छ।