रौतहटमा निषेधाज्ञाको अवधि भदौ मसान्तसम्म थप
Sunday, September 6th, 2020, 12:51 pm
रौतहट, २१ भदौ । रौतहट प्रशासनले लागू भइरहेको निषेधाज्ञा भदौ मसान्तसम्मका लागि लम्ब्याएको छ । कोभिड १९ संकट व्यवस्थापन जिल्लास्तरीय समितिको बैठकले भोलि २२ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ।
स्थानीय प्रशासनले गत भदौ १४ गतेदेखि जारी गरेको ७ दिने निषेधाज्ञाको अवधि आज बेलुकी सकिँदैछ।
रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणले थप मानिसलाई संक्रमित बनाउने जोखिम उच्च रहेकाले निषेधाज्ञा जारी गरिएको हो।
यस अवधिमा सार्वजनिक तथा भाडाको गाडी चलाउन निषेध गरिएको छ भने अत्यावश्यक सवारीसाधन चलाउन पाइने छ । अत्यावश्यक तथा खाद्यान्न पसल स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ । त्यसैगरी होटेल, रेस्टुरेन्ट जिमखाना, सैलुन , ब्युटीपार्लर , हाटबजार भने खोल्न नपाइने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
