लेनदेन विवादमा साथीको हत्या गर्ने युवक पक्राउ
Saturday, September 5th, 2020, 1:46 pm
झापा, २० भदौ । लेनदेन विवादका कारण आफ्नै साथीको हत्या गरेको आरोपमा झापा शिवसताक्षीका एक युवकालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले शुक्रबार शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बूलाई हत्याको आरोपमा पक्राउ गरेको हो।
लिम्बुले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै साथी २९ वर्षीय गोमनसिंह मगरलाई दुई दिनअघि जङ्गलमा लगी हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार दुवैबीच लेनदेन विवाद रहेको र हत्या भएको साँझतिर हावा खान जाऔँ भनी मृतककै मोटरसाइकलमा चढेर जङ्गलतिर जाने क्रममा गुडिरहेको मोटरसाइकलमै पछाडिबाट धारिलो कर्दले घाँटी रेटेको अभियुक्त लिम्बूले बयान दिएको छ।
प्रहरीले घटनास्थल वरपरबाट मृतकले चलाएको मोटरसाइकल, आइफोन, धारिलो कर्द र अभियुक्तले प्रयोग गर्दै आएको मोबाइल फोन बरामद गरेको छ।
पक्राउ परेका अभियुक्त लिम्बूमाथि अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइसकेको प्रहरीले जनाएको छ।