कर्फ्युका बीच मत्स्येन्द्रनाथको क्षमा पूजा सम्पन्न
Friday, September 4th, 2020, 4:09 pm
काठमाण्डौ, १९ भदौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार जिल्लाभित्र जारी गरेको कर्फ्युका बीच पुल्चोकमा रातो मत्स्येन्द्रनाथको क्षमा पूजा सम्पन्न भएको छ।
(हिजो) बिहीबार दिउँसो रथ तान्ने क्रममा झडप भएपछि असामान्य बन्दै गएको स्थितिलाई साम्य पार्न विभिन्न जातीय संगठन, गुठी संस्थान, जिल्ला प्रशासन कार्यालयलगायतका प्रतिनिधिको बैठकले गरेको निर्णयअनुसार छोटो विधिबाट रथयात्रा गर्न शुक्रबार क्षमापूजा गरिएको हो।
हिजो भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार बिहीबारको असामान्य परिपस्थितिलाई मध्यनजर गर्दै शुक्रबार ललितपुुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरी सीमित व्यक्ति उपस्थित भएर शुक्रबार क्षमापूजा गर्ने र संक्षिप्त विधिबाट मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने सहमति भएको छ।
भदौ २२ गते ज्योतिषले साइत हेरेपछि शुभ साइतमा मत्स्येन्द्रनाथलाई सिधै बुङ्ममती र्पुयाउने सहमति भएको थपलियाले बताएका छन्।