बाग्लुङको बाढी प्रभावित क्षेत्रमा राहात सामाग्री लिएर गृहमन्त्री थापा पुगे
Friday, September 4th, 2020, 2:26 pm
काठमाडौ, १९ भदौ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राहत सामाग्री लिएर बाग्लुङको ढोरपाटन नगरपालिका स्थित बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।
बिहिबार राती ढोरपाटन–९ स्थित बोबाङ, फलेघर र सुपुर्दुङ क्षेत्रमा बाढी र पहिरोले २४ जनालाई बेपत्ता बनाएको थियो भने बोबाङमा १४ जनाको शव फेला परिसकेको छ।
बिहिबार खराब मौसमको कारण गृहमन्त्री ‘बादल’ सवार नेपाली सेनाको हेलिकप्टर पोखरामा रोकिएको थियो तर आज मौसम सफा भएकाले नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमा सांसद देवेन्द्र पौडेल सहितको टोली लिएर बाग्लुङ पुगेका गृमन्त्री थापाले प्रभावित समुदायलाई राहत वितरण गरेका छन्।
उनको सचिवालयले दिएको जानकारी अनुसार मन्त्री बादलले ढोरपाटन नगरपालिका वडा नम्बर–७, ८ र ९ का प्रभावित क्षेत्रको अवलोकन गरेका छन्।