मौसम खराबका कारण बागलुङ हिँडेको गृहमन्त्रीको टोली स्याङ्जाबाट फर्कियो
Thursday, September 3rd, 2020, 2:05 pm
काठमाडौ, १८ भदौ । बाग्लुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दङका बाढी पीडितहरुका लागि राहत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत हिँडेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को टोली मौसम खराबका कराण फर्किएको छ ।
मौसम खराब भएपछि स्याङ्जासम्म पुगेर गृहमन्त्रीसहितको टोली पोखरा फर्किएको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिएका छन्।
भट्टराईका अनुसार मौसम खुलेपछि बागलुङ जाने तयारी भइरहेको छ भने गृहमन्त्रीसहितको टोली अहिले पोखरा विमानस्थलमा नै रहेको र मौसम नखुले काठमाडौँ नै फर्किनेछ।
गृहमन्त्रीको सो टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल रहेका छन्।