टिकटकपछि पब्जीमाथि पनि प्रतिबन्ध लगाउने भारतको निर्णय
Wednesday, September 2nd, 2020, 7:01 pm
एजेन्सी, १७ भदौ । भारतले पब्जीसहित थप ११८ चिनियाँ एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। भारतीय सञ्चारमाध्यहरूका अनुसार भारतको इलेक्ट्रोनिक्स एन्ड आइटी मन्त्रालयले बुधबार ती एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। बाइडु, टेन्सेन्ट र सिआओमीले बनाएका एपमा प्रतिबन्ध लगाएको छ।
भारत र चिनियाँ सैनिकबीच लद्धाखमा पछिल्लो झडप भएपछि भारतले थप चिनियाँ एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।
यसअघि गत जुन १५ मा लद्धाखमा चिनियाँ सैनिकसँगको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। त्यसपछि भारतले टिकटकसहित ५९ चिनियाँ एपमा प्रतिबन्ध लगाएको थियो।
ती चिनियाँ एपहरूले प्रयोगकर्ताको डाटा दुरूपयोग गरेको विभिन्न ठाउँबाट धेरै गुनासा आएको मन्त्रालयले जनाएको छ।