सीमानजिक आउने जोकोहीलाई गोली हान्ने उत्तर कोरियाको कडा आदेश
Wednesday, September 2nd, 2020, 5:38 pm
एजेन्सी, १७ भदौ । उत्तर कोरियाले चीनसँगको सीमामा आधा माइल पर पनि कसैलाई देखेमा तत्कालै गोली हान्ने आदेश आफ्ना सैनिकहरूलाई दिएको छ । कोरोनाभाइरस फैलिन नदिनका लागि उसले यस्तो कठोर आदेश जारी गरेको हो।
गत बिहीवार मध्यरातदेखि यो नयाँ आदेश लागू गरिएको हो। होर्एयोङ शहरको प्रहरीले सीमामा देखापर्ने जोकोहीलाई जुनसुकै कारणले आएको भए पनि गोली हानेर मार्ने बताएको छ।
चीनसँगको ८८० माइल लामो सीमाभरि यो नीति लागू गरिएको छ । महामारी अन्त्य नहुन्जेल यसलाई लागू गरिनेछ । चीनबाट आएका मानिसले कोभिड–१९ को संक्रमण नसारून् भन्ने उत्तरको चाहना हो।
सरकारले यो निर्मम नीति लागू गर्नका लागि प्रहरीलाई हातहतियार उपलब्ध गराएको छ । सीमा नजिक गोली हानेर कसैलाई मारेमा कुनै दोष नलगाइने बताइएको छ।
चीन र उत्तर कोरियाले सीमा बन्द गरेका भए पनि आवतजावत चलिरहेकै छ । उत्तर कोरियाको अर्थतन्त्र नै चीनबाट सामान ओसारपसार गरेर चलेको छ।
उत्तर कोरियाबाट भागेका एक व्यक्ति कसैले पनि थाहा नपाइकन देश फर्केपछि किम जोङ उन बेस्सरी रिसाएर सीमाक्षेत्रमा रहेको सैन्य इकाइलाई नै भंग गरेका थिए।
उत्तरले आफूलाई विश्वमै एक मात्र भाइरसमुक्त मुलुक भनी दाबी गरेको छ । त्यहाँ एउटा पनि कोरोना केस नरहेको बताइएको छ तर त्यसलाई धेरैले शंका गरेका छन्।