उपत्यकाको निषेधाज्ञा अब के गर्ने भन्नेबारे भोलि निर्णय हुने
Tuesday, September 1st, 2020, 1:16 pm
काठमाडौ, १६ भदौ । काठमाडौँ उपत्यकामा दुई सातादेखि जारी रहेको निषेधाज्ञाको समय बुधबार मध्यरातबाट सकिँदै छ। भदौ ३ गते सुरु भएको निषेधाज्ञा गत भदौ १० गतेसम्मका लागि भनिएतापनि फेरि संक्रमणको जोखिमलाई मध्यनजर गर्र्दै सात दिन लम्ब्याइएको थियो।
बुधबार तीनवटै जिल्लाका जिल्ला प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त बैठक बसेर निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे निर्णय गर्ने बताइएको छ। यसअघि मंगलबार तीनवटै जिल्लाका सीडीओको भर्चुअल मिटिङ भएको थियो।
ललितपुरका जिल्ला प्रशासन प्रमुख नारायणप्रसाद भट्टका अनुसार मंगलबार सामान्य छलफल भएको र बुधबार सबैको सुझावलाई हेरेर निषेधाज्ञालाई अब के गर्ने भन्नेबारे निर्णय गरिनेछ।
काठमाडौँ उपत्यकामा कोरोना संक्रमण फैलिरहे पनि निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने उद्योगी व्यवसायीहरुले माग गरिरहेका छन्।