रुपन्देहीमा होम आइसोलेसनबाट अस्पताल लैजाँदै गर्दा कोरोना संक्रमित महिलाको मृत्यु
Monday, August 31st, 2020, 1:28 pm
बुटवल, १५ भदौ । रुपन्देहीमा होम आइसोलेनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ की ६८ वर्षीया महिलाको आइतवार राति ९ बजे भैरहवास्थित भीम अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको हो।
होम आइसोलेसनमा बसेकी ती संक्रमित महिलाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिएका छन्। भदौ ११ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसेकी थिइन्।
भीम अस्पतालका सूचना अधिकारी डा.नारायण पोखरेलका अनुसार संक्रमित महिलालाई राति ९ बजे ल्याइएको थियो भने डाक्टरले एम्बुलेन्सबाट निकाल्दै गर्दा उनको मृत्यु भइसकेको रहेछ।
मृतकको शव अहिलेसम्म पनि अस्पतालमै रहेको र व्यवस्थापनको लागि सुुरक्षा निकायलाई खबर गरिएको डा. पोखरेलले जानकारी दिएका छन्।
योसंगै हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।