भारतीय र चिनियाँ सेनाबीच फेरि लद्दाखमा झडप
Monday, August 31st, 2020, 12:46 pm
एजेन्सी, १५ भदौं । भारत र चीनबीचको सीमा विवाद कम हुँदै गएको अनुमान चलिरहेका बेला फेरि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको छ । भारतले चिनियाँ सेनाले सीमासम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको बताएको छ।
भारत सरकारले सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको पुष्टि गरेको छ।
भारतीय अधिकारीहरुका अनुसार चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको र चिनियाँ सेनाले सीमामा यथास्थितिको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको थियो।
भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच झडप भएको विषयमा जानकारी दिएता पनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बताइएको छ।
ब्युरोले भनेको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहट कदमलाई रोकिदिएको छ । भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ। साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ । यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ।’
झडप दुई दिन अगाडि अगष्ट २९ को राति भएको हो भने चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितिलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दै त्यस्तो हुन नदिएको भारतीय सेनाको भनाइ छ।
यसअघि पनि लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको ज्यान गएको थियो।