पोखरीमा माछा मार्न गएका दुईजनाको करेन्ट लागेर मृत्यु
Monday, August 31st, 2020, 11:14 am
चितवन, १५ भदौ । चितवनमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। पोखरीमा माछा मार्न गएका दुई जनाको करेन्ट लागेर ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्य थापाका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका ८ का अन्दाजी ३५ नवराज दराई र निर बहादुर रानामगर रहेका छन्। स्थानिय चुडामढि शर्मा लगायतले भरतपुर ८ सल्यानी टोलमा संचालन गरेको माछा पोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनीहरुको मृत्यु भएको नायव उपरीक्षक थापाले जानकारी दिएका छन्।
सञ्चालकले दिएको प्रारम्भिक बयान अनुसार दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरिएको छ भने मृतकहरुको साथमा जाल समेत भेटिएको छ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको थापाले जनाएको छ।