स्याङ्जा प्रशासनले निषेधाज्ञा र लकडाउन हटायो
Saturday, August 29th, 2020, 5:51 pm
स्याङ्जा, १३ भदौ । कोरोना संक्रमण बढेसंगै स्याङ्जामा लागू गरिएको निषेधाज्ञा र लकडाउन हटाइएको छ। स्याङ्जाको जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा हटाइए पनि अनावश्यक हिँडडुल गर्न भने रोक लगाएको जानकारी दिएको छ।
स्याङ्जामा नयाँ कोरोना संक्रमितको संख्या न्यून हुँदै गएको कारण निषेधाज्ञा केही खुकुलो बनाइएको हो। अहिले जिल्लामा ३१० संक्रमितमध्ये पाँच जना मात्र आइसोलेसनमा छन्।
प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीका अनुसार जिल्ला कोरोना संङ्कट व्यवस्थापन समिति स्याङ्जाको बैठकले १८ गते राति १२ बजेसम्म लागू हुनेगरी अनावश्यक जमघट, सवारीसाधनको प्रयोग र हिँडडुल गर्न भने स्थगन गरिएको हो भने १८ गते पछिको अवस्था हेरेर जिल्लाभित्रको आन्तरिक गतिविधि सहज बनाउने तयारीमा रहेको छ।
निषेधाज्ञा हटेपनि नाकामा कडाइ गर्ने र बाहिरबाट आएकालाई सम्बन्धित पालिकाको क्वारेनटिनमा राखिनेछ भने १८ गते सम्म अत्यावश्यक सवारीसाधन बिहान ६ देखि ९ बजेसम्म सञ्चालनमा आउने प्रजिअ क्षेत्रीले बताएका छन्।
त्यस्तै, परिचय पत्र वहाक कर्मचारीको सवारीसाधन बिहान ९ देखि १० र बेलुकी ५ देखि ६ सम्म प्रयोग गर्न पाइनेछ। यसैगरी, अत्यावश्यक खाद्यान्न तरकारी डेरी लगायतका पसल बिहान ६ देखि ९ र साँझ ४ देखि ७ सम्म स्वास्थ्यको मापडण्ड पूरा गरेर मात्र खोल्न पाइने छ।