भारतमा शनिबार थपिए ७६ हजार भन्दा बढी कोरोना संक्रमित, स्थिति चिन्ताजनक बन्दै
Saturday, August 29th, 2020, 4:16 pm
एजेन्सी, १३ भदौ । भारतमा शनिबार मात्रै ७६ हजार ४७२ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। शुक्रबारको तुलनामा आज संक्रमितको संख्या थोरै कम हो । पछिल्लो केही दिनदेखि भारतमा लगातार ७० हजारभन्दा बढी नागरिकमा कोरोना संक्रमण पुष्टि भइरहेको छ र यो स्थिति त्यहाँको लागि एकदम चिन्ताजनक बन्दै गइरहेको छ ।
हालसम्म भारतमा ३४ लाखभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन् भने कुल संक्रमितको तुलनामा भारत अमेरिका र ब्राजिलभन्दा पछि मात्र रहेको छ।
यसैगरी पछिल्लो दुई हप्ताको अवधि भित्र भारतमा एक दिनमा फेला परेको संक्रमितको संख्याले लगातार कीर्तिमान बनाइरहेको छ।
भारतमा पछिल्लो २४ घण्टाको अवधिमा १ हजार २१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले जनाएको छ। योसँगै कोरोना संक्रमणको काराण ज्यान गुमाउनेको संख्या ६२ हजार ५५० पुगेको छ।
भारत सरकार लगाइएका प्रतिबन्धहरुमा सेप्टेम्बर १ देखि केही छुट दिने तयारी गरिरहेको छ । केही दिनअघि मात्र मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानीको जीवन पुनः सुचारु गर्न मेट्रो सेवा शुरु हुन जरुरी रहेको बताएका थिए । यद्यपि, यसबारे अझै केही फैसला भइसकेको छैन।
यता, भारतमा यतिबेला मेडिकल र इन्जिनियरिङको परीक्षा स्थगन गर्न हजारौँ विद्यार्थी विरोधमा सडकमा उत्रेका छन्।