स्वास्थ्यकर्मीलाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस् कारवाही गरिनेछ : गृह मन्त्रालय
Saturday, August 29th, 2020, 1:06 pm
काठमाडौ, १३ भदौ । कोरोना भाइरस संक्रमण (कोभिड–१९) को उपचार र नागरिकको स्वास्थ्य सुरक्षाका लागि खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा र घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुव्र्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
यदि कसैले माथिका कुनै हर्कत गरेमा गृह मन्त्रालयको टोल फ्रि नम्बर ११४९ वा नेपाल प्रहरीको १०० नम्बरमा फोन गरेमा सो उपर कारवाही हुनेछ भने उजुरीकर्ताको विवरण गोप्य राखिने प्रवक्ता ढकालले बताएका छन् ।
स्थानीयवासीको नाममा केही उछश्रृंखल गुण्डाहरूले काठमाडौं, मोरङ र चितवनमा कोभिड–१९ को नियन्त्रणमा खटेकाहरूलाई दुव्र्यवहार गरेपछि यस्तो निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ ।
विरामीको उपचारमा खटेका वा महामारी नियन्त्रणमा लागेका जोकोहीलाई सम्मान तथा उत्प्रेरित गर्नुपर्नेमा केही व्यक्तिहरूले उल्टै धम्की दिने, घर घेराउ गर्ने गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।