भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
Saturday, August 29th, 2020, 12:22 pm
चितवन, १३ भदौ । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ।
भदौ ८ गते अस्पताल भर्ना भएकी गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाका अनुसार आमाको सङ्क्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको छ।
कोरोना सङ्क्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको र आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने डा. सापकोटाले जानकारी दिएका छन् ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको छ भने भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित महिलाको अप्रेसन गरिएको यो दोस्रोपटक हो।
यसैगरी भरतपुर अस्पताल काठमाडौंको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालको रुपमा रहेको छ।