मोटरसाइकल दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु
Saturday, August 29th, 2020, 11:59 am
विराटनगर, १३ भदौ । मोटरसाइकल दुर्घटनामा एक प्रहरी हवल्दारको शनिबार बिहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलान घर भएका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर शनिबार बिहान विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिबार बिहान ४ बजेतिर उनले चलाएको को १ प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको सुनसरी प्रहरी स्रोतले बताएको छ ।
सुनसरी प्रहरी स्रोतका अनुसार दुर्घटनामा परी टाउकोमा चोट लागी गम्भीर घाइते भएका प्रहरी हवल्दार मण्डललाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो तर उनको उपचारका क्रममा बिहान ५ः३० बजेतिर मृत्यु भएको हो ।
मोटरसाइकल घुम्तीमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो कि घटनाको अरु नै कारण छ भन्ने बारेमा अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले बताएको छ ।