धरानमा सिरहाका कोरोना संक्रमितको मृत्यु
Saturday, August 29th, 2020, 11:02 am
धरान, १३ भदौ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना सिराहाका कोरोना संक्रमितको मृत्यु भएको छ । धरानमा उपचारका क्रममा शुक्रबार राति करिब साढे ११ बजे सिरहाको भदैया ६ घर भएका ८४ वर्षीय पुरुषको मृत्यु भएको हो।
मृतकमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन्।
ती वृद्धलाई उपचारका लागि भदौ ६ गते धरान ल्याइएको थियो । उनको स्वाबको पीसीआर परीक्षण गराउँदा भोलिपल्ट कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
प्रतिष्ठानका अनुसार मृतकमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको थियो। योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।