दक्षिण कोरियामा मार्चपछिकै सबैभन्दा धेरै दैनिक नयाँ कोरोना संक्रमित भेटिए
Thursday, August 27th, 2020, 12:19 pm
एजेन्सी, ११ भदौ । दक्षिण कोरियामा पछिल्लो २४ घण्टाको अवधिमा गत मार्चयताकै सबैभन्दा धेरै दैनिक नयाँ संक्रमित फेला परेका छन् ।
सो अवधिमा ४४१ नयाँ संक्रमित फेला परेको दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जानकारी दिएको छ । यसैगरी दक्षिण कोरियामा मार्च ७ पछि पहिलोपटक एकैदिन चार सयभन्दा धेरै नयाँ कोरोना भाइरसका संक्रमित भेटिएका हुन् भने यो संख्या गत मार्चयता एकैदिनमा भेटिएका सबैभन्दा धेरै नयाँ कोरोना संक्रमित हुन् ।
दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणको लागि विभिन्न किसिमका योजना अघि सारिएको भए पनि दैनिक नयाँ संक्रमितको संख्या भने बढ्दो क्रममा देखिएको हो । अगष्ट १४ को तुलनामा दैनिक नयाँ संक्रमितको संख्या तीन गुणा बढिसकेको छ ।
अहिले सरकारले दक्षिण कोरियामा १० जनाभन्दा धैरै मानिसको भेलामा रोक लगाइनुका साथै सिनेमा, क्याफे र विवाह समारोहजस्ता भेलामा पनि रोक लगाइएको छ ।
यसैबीच दक्षिण कोरियाले कोरोना भाइरसबाट बच्न घरबाटै काम गर्न मानिसहरुलाई आग्रह गरेको छ ।