विदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि ‘नो अब्जेक्सन लेटर’ दिने तयारी गर्दै शिक्षा मन्त्रालय
Wednesday, August 26th, 2020, 1:41 pm
काठमाण्डौ, १० भदौ । सरकारले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर) दिने निर्णय गरेको छ ।
शिक्षा मन्त्रालयका अनुसार मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले ‘नो अब्जेक्सन लेटर’ वितरण खुला गर्ने निर्णय गरेको हो ।
शिक्षा मन्त्रालयले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर’ उपलब्ध गराउँदै आएता पनि विश्वभर कोरोना महामारी फैलिँदै गएपछि नेपाल सरकारले गत चैतदेखि ‘नो अब्जेक्सन लेटर’ दिन बन्द गरेको थियो ।
विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुको रोजाइमा अस्ट्रेलिया, जापान, न्युजिल्यान्ड, चीनलगायतका देश पर्दछन् । हरेक वर्ष विदेश अध्ययन गर्न जान चाहने झण्डै एक लाखले ‘नो अब्जेक्सन लेटर’ लिँदै आएको शिक्षा मन्त्रालयको तथ्यांकले देखाएको छ ।