काठमाण्डौको थापाथलीस्थित प्रसूति अस्पतालमा कार्यरत तीन डाक्टरसहित आठजनामा कोरोना संक्रमण
Saturday, August 22nd, 2020, 5:01 pm
काठमाण्डौ, ६ भदौ । काठमाडौको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका तीनजना चिकित्सकसहित आठजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी त्यहीँको काउण्टरमा काम गर्ने नेपाल इन्भेस्टमेन्ट बैंकका ४ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको अस्पताले जानकारी दिएको छ ।
अस्पतालका अनुसार पछिल्लो एक सातामा कन्ट्याक्ट ट्रेसिङका क्रममा ७० जनाको पिसिआर परीक्षण गरिएको थियो भने तीमध्ये डाक्टरसहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै संक्रमितमध्ये दुई जनालाई टेकुस्थित शुक्रराज अस्पतालमा र बाँकीलाई होम आइसोलेसनमा राखिएको छ ।
अस्पतालमा प्रसूतिका लागि आउने गर्भवतीहरुका लागि ‘ट्रायज’ गरी जोखिम देखिएकालाई कुपण्डोलस्थित अस्पतालकै आइसोलेसन भवनमा लगेर राखिने अस्पतालले बताएको छ ।
उनीहरुमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि थापाथलीमै फेरि ल्याएर प्रसूति गराइने छ भने यदि पोजेटिभ देखिए आइसोलेसन सेन्टरबाटै प्रसूति गराउने व्यवस्था मिलाइएको अस्पताल स्रोतले जानकारी दिएको छ ।