भारतमा एकै दिनमा ६९ हजार भन्दा बढी कोरोना संक्रमित थपियो
Saturday, August 22nd, 2020, 11:36 am
एजेन्सी, ६ भदौ । पछिल्लो २४ घन्टाको अवधिमा भारतमा ६९ हजार ८ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । यो हालसम्मकै एक दिनमा सबैभन्दा बढी कोरोना संक्रमित थपिएको रेकर्ड हो ।
कोरोना भाइरसको महामारी सुरु भएपछि भारतमा २४ घन्टामा सबैभन्दा बढी संक्रमित भेटिएको यही पहिलो पटक हो । यही समयमा भारतमा कोरोना संक्रमणबाट ९ सय ४७ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म भारतमा २९ लाख ७५ हजार ७ सय २ जना कोरोना संक्रमित छन् भने यसमध्ये ६ लाख ९७ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म भारतमा कोरोना संक्रमणका कारण ५५ हजार ७ सय ९४ जनाको मृत्यु भइसकेको छ ।