बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई २ लाख राहत, घर बनाउन १ लाख सहयोग दिने
Friday, August 21st, 2020, 6:52 pm
काठमाण्डौ, ५ भदौ । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई २ लाख रुपैंया राहत प्रदान गर्ने निर्णय गरेको छ ।
त्यस्तै एकै परिवारका एक भन्दा बढिको मृत्यु भएको खण्डमा सो २ लाखमा अरु सदस्यका लागि थप १ लाखका दरले सहायता उपलब्ध गराइनेछ ।
शुक्रबार सरकारका प्रवक्ता युवराज खतिवडाले बिहीबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदैे धनजनको क्षति भई खानबस्न समेत समस्या रहेका परिवारलाई २० हजार रुपैंयाको दरले राहत उपलब्ध गराइने जानकारी दिएका छन् ।
खतिवडाका अनुसार घाइतेहरुको सम्पूर्ण उपचार खर्च पनि सरकारले ब्यहोर्ने निर्णय गरिएको छ ।
यसैगरी पहिरोबाट पुरै घर भत्केका लागि नयाँ घर निर्माण गर्नुपर्ने अवस्था भए घर निर्माणको सहयोगको लागि सरकारले प्रति परिवार १ लाख सहयोग दिने निर्णय गरेको छ ।