यसपटक तीजमा राष्ट्रपति भण्डारी पशुपति नजाने
Friday, August 21st, 2020, 1:13 pm
काठमाण्डौ, ५ भदौ । हरितालिका तीजमा राष्ट्रपति विद्यादेवी भण्डारी यसपटक पशुपतिनाथको दर्शनको लागि नजाने भएकी छिन् ।
राष्ट्रपति कार्यालयका अनुसार हरेक वर्ष तीजमा राष्ट्रपति पशुपति पुगेर दर्शन गर्ने परम्परा रहेकोमा यसपटक कोरोना भाइरसको महामारीका कारण उहाँ जान नजाने भएको छ ।
यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले देशवासीलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै तीज पर्व मनाउन आग्रह गरेकी छिन् ।
तीज पर्वको अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्दै यो वर्ष भेटघाट र जमघट गर्न सकिने अवस्था नभएकोले घरमै मनाउन आग्रह गरेकी छिन् ।