नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली अछाम पुगे
Friday, August 21st, 2020, 1:03 pm
कैलाली, ५ भदौ । गृहमन्त्री रामबहादुर थापासहितको टोली आज राहत सामग्री लिएर अछामको बाढीले क्षति पुर्याएको रामारोशन गाउँपालिका पुगेका छन् । काठमाडौँबाट गृहमन्त्रीसहितको टोली बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत राहत सामग्री लिएर अछामको रामारोशन गाउँपालिका पुगेका हुन् ।
सो टोलीमा गृहमन्त्री थापा सहित नेकपाका सुदूरपश्चिम ईन्चार्ज भीम रावल, सांसद शेरबहादुर कुँवर, र तारामान स्वार, गृहमन्त्रीका विज्ञ सल्लाहकार सूर्य सुबेदी, सुरक्षा सल्लाहकार डा. ईन्द्रजीत राई, विपद जोखिम न्युनीकरण प्राधिकरणका प्रमुख अनिल पोख्रेल रहेका छन् ।
नेपाल रेडक्रस सोसाइटीले राहातसामग्रीे उपलब्ध गराएको छ भने नेता भीम रावलले ११ वटा त्रिपालको व्यवस्था गरेका छन । सो राहात सामाग्रीमा खाद्यान्न भाँडाकुडा, त्रिपाल लगाएका सामाग्री छन् ।
अछामको रामारोशन गाउँपालिका–५ कैलाश खोलामा गत बुधबार आएको बाढीले सैनीबजार बगाउँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता रहेका छन् । बाढीपहिरोले रामारोशनका दर्जनौँ परिवार घरबार विहीन भएका छन् ।