बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु
Friday, August 21st, 2020, 11:07 am
बुटवल। ५ भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ ।
स्वर्गद्वारी नगरपालिका वडा नं ७ का सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान बुटवलको कोरोना वशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाबको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवल ल्याइएको थियो ।
अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाका अनुसार भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको हो ।
मृतक गौतममा मधुमेह र उच्च रक्तचापको समस्यासमेत थियो भने उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ ।