सीतापाइला एसिड काण्डका आरोपितहरु कारागार चलान
Thursday, August 20th, 2020, 5:32 pm
काठमाडौ, ४ भदौ । काठमाडौंको सीतापाइलामा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड प्रहार गर्ने दुई जना अभियुक्त कारागार चलान भएका छन् ।
जिल्ला अदालत काठमाडौंले बिहीबार ती अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीश कृष्णजंग शाहको इजलासले थुनछेक बहस गर्दै कार्कीमाथि एसिड हान्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।
यसैगरी अदालतले किर्तिपुर अस्पतालमा उपचाररत घाइते कार्कीलाई राहतकोषबाट २ लाख रुपैयाँ तुरुन्त उपलब्ध गराउन पनि आदेश दिएको छ ।
कोठाबाट दही किन्न निस्किएको बेलामा कार्कीमाथि एसिड प्रहार भएको थियो ।
पवित्रामाथि एसिड हानेर भागेका उनीहरुलाई महानगरीय प्रहरी परिसर र अपराध अनुसन्धान महाशाखाको टोलीले केही घण्टामै पक्राउ गरेको थियो ।