चीन र अमेरिकाबीच शनिबार रोकिएको दोश्रो चरणको व्यापार वार्ता केही दिनमै हुने
Thursday, August 20th, 2020, 2:51 pm
एजेन्सी, ४ भदौ । चीन र अमेरिकाबीच आगामी केही दिनभित्रै व्यापार वार्ता हुने भएको छ । चीनको वाणिज्य मन्त्रालयका अनुसार दुई देशबीच यसअघि भएको पहिलो चरणको व्यापार सम्झौताको प्रगतिबारे समीक्षा केही दिनभित्रै हुने छ ।
दुवै पक्ष आगामी केही दिनमै वार्तामा बस्न सहत भएको मन्त्रालयका प्रवक्ता गाओ फेंगले बिहीबार जानकारी दिएका छन् । यसअघि गत शनिबार दुवै देशबीच पहिलो चरणको सम्झौता कार्यान्वयनको लागि वार्तामा बस्ने मिति तोकिए पनि स्थगित भएको थियो ।
यसैगरी मंगलबारमात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१९ डिसेम्बरमा चीनको हुवेई प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको महामारी रोक्न चीनले पहल नगरेकोले आफू बेखुसी भएको बताउँदै वार्ता सारेको टिप्पणी गरेका थिए ।
कोरोना महामारी विश्वभर फैलिएलगतै अमेरिका र चीनबीच तनाव बढ्दै गएको छ भने ट्रम्प भाइरसलाई लिएर चीनप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । कोरोना महामारीअघि नै दुई देशले पहिलो चरणको व्यापार सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार चीनले व्यापक मात्रामा अमेरिकी कृषि वस्तु किन्नुपर्ने हुन्छ ।