भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था झन कम्जोर, भेन्टिलेटरमा राखेर उपचार गरिदै
Wednesday, August 19th, 2020, 7:53 pm
एजेन्सी, ३ भदौ । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था झन कम्जोर बन्दै गएको भारतीय राजधानी नयाँ दिल्लीमा रहेको आर्मी रिसर्च एण्ड रिफरल हस्पिटलले जनाएको छ । सैनिक अस्पतालमा उपचारत रहेका मुखर्जीको पछिल्ला केही दिनहरुमा उनको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको छ ।
अस्पतालले बुधबार प्रकाशन गरेको विज्ञप्ति अनुसार उनलाई फोक्सोमा सङ्क्रमण देखिएको छ भने सो संक्रमणका कारण उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो ।
त्यस्तै उनको अवस्था झन् कमजोर हुदै गएपछि अहिले भेन्टिलेटरमा राखेर उपचार गरिएको छ भने उनलाई भेन्टिलेटरबाट झिक्ने अवस्था नरहेको पनि सो अस्पतालले जनाएको छ । गत अगष्ट १० मा मुखर्जीलाई सो अस्पतालमा भर्ना गरिएको थियो । त्यस लगत्तै उनको मष्तिष्कको शल्यक्रिया गरिएको थियो ।
उक्त शल्यक्रियाको केही दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइएको बताइएको छ । केही दिनमात्र अघि पनि सो अस्पतालले उनको स्वास्थ्य अवस्था कमजोर र स्थिर रहेको बताएको थियो ।