राष्ट्रिय झण्डा जलाएर गीत बनाई युटुवबमा सार्वजनिक गर्ने नाइकेसहित ८ जना प्रहरीको नियन्त्रणमा
Wednesday, August 19th, 2020, 2:42 pm
काठमाडौ, ३ भदौ । सामाजिक सञ्जाल युट्युबमा नेपालको राष्ट्रिय झन्डा जलाउँदै राष्ट्रियता एवं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरू प्रयोग भएका म्युजिक भिडियो सार्वजनिक गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
दुई दिनअघि मंगोल हव अफिसियलबाट युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाइएको छ ।
गीत गाउने ग्लाल्जेन दोर्जे तामाङसहित अभिनय र इडिटिङ गर्ने व्यक्तिसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जना र महानगरीय अपराध अनुसन्धान महाशाखाले दुई जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
राष्ट्रिय झण्डा जलाएर गीत बनाएर युटुवबमा सार्वजनिक गर्ने नाइकेसहित ८ जना प्रहरीको नियन्त्रणमा
यसैगरी उक्त गीत सार्वजनिक भएसँगै चौतर्फी रुपमा प्रतिबन्धको माग गर्दै त्यसमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न सामाजिक सञ्जालमा आवाज उठेका थियो । महाशाखाका अनुसार भिडियो छायाङ्कन भएको ठाउँ पत्ता लागेको र सो भिडियो शेयर नगर्न आग्रह गरिएको छ।
उक्त भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पृथ्वीनारायण शाह, पूर्व राजा ज्ञानेन्द्र शाहलगायतका व्यक्तित्वहरुको तस्बिर जलाइएको छ ।
मुलुकी अपराध संहिताको दफा १५१ मा देशको अपमान गर्ने गरी राष्ट्रिय झण्डा जलाउनुलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरेको छ भने दफा १५१ मा ‘राष्ट्रिय ज्ञान, झण्डा वा निशान छापको अपमान गर्नेलाई तीन वर्षसम्म कैद र तीस हजारसम्मको जरिवाना हुने’ उल्लेख गरिएको छ ।
यसैगरी सो म्युजिक भिडियोको सुटिङ मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा गरिएको जानकारी गरिएको छ ।