कोरोना संक्रमण फैलिनमा २० देखि ४० बर्ष उमेर समूहका संक्रमित बढी जिम्मेवार : डब्लूएचओ
Tuesday, August 18th, 2020, 12:54 pm
एजेन्सी, २ भदौ । कोरोना भाइरस कोभिड–१९को महामारी फैलिनमा २० देखि ४० वर्ष उमेर समूहका संक्रमित बढी जिम्मेवार रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । मंगलबार वेस्टर्न पेसिफिकका क्षेत्रीय निर्देशक ताकेशी कासाईले यस्तो बताएका हुन् ।
कासाईका अनुसार यी उमेर समूहका धेरैजसो संक्रमितलाई आफू संक्रमित भएको कुरा थाहा नभएकाले यस्तो भएको र यस उमेर समूहका धेरैजसो संक्रमितमा कुनै पनि लक्षण नदेखिने भएकाले संक्रमण तीव्ररुपमा फैलिने गरेको छ ।
यसैगरी कोरोना संक्रमण फैलने खतरा घना वस्तीमा झन बढ्दै गइरहनुका साथै अस्वस्थ मानिसलाई अझ जोखिम समेत रहेको कसाईले बताएका छन् ।
गत डिसेम्बरदेखि फैलिएको कोभिड–१९ को संक्रमणबाट हालसम्म विश्वभर २ करोड १८ लाख ८२ हजार बराबर मानिसहरु संक्रमित भइसकेका छन् । जसमध्ये १ करोड ३८ लाख ८८ हजार ३०१ जना निको भइसकेका छन् भने ७ लाख ७४ हजार ३४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।