रुपन्देहीस्थित नेपाल आयल निगमका १० कर्मचारी कोरोना संक्रमित भएको पुष्टि
Sunday, August 16th, 2020, 3:54 pm
बुटवल, ३२ साउन । रुपन्देहीस्थित नेपाल आयल निगमका विभिन्न कार्यालयमा काम गर्ने १० जना कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।
निगमको भलबारीस्थित प्रादेशिक डिपोका ३, निगमकै भैरहवास्थित पेट्रोल पम्पका ३ र गौतमबुद्ध विमानस्थलस्थित हवाई इन्धन डिपोका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भलवारी डिपोका ४० जना, भैरहवा पम्पका २२ जना र विमानस्थल डिपोका १६ जना गरी ७८ जनाको स्वाब परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
त्यस्तै प्रादेशिक डिपो कार्यालय भलबारीका प्रमुख इन्जिनियर सुरज शाहका अनुसार डिपोका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि विमानस्थलको हवाई इन्धन डिपो शुक्रबारबाट नै शिल गरिएको छ भने भैरहवाको पेट्रोल पम्प र भलबारी डिपोमा पनि आइतबारदेखि नै काम बन्द गरिएको छ ।