टिकटक पछि अलिबाबासहितका चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाउने तयारी गर्दै ट्रम्प
Sunday, August 16th, 2020, 1:59 pm
एजेन्सी, ३२ साउन । अमेरिका र चीनबीचको बढ्दो विवादका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अलिबाबासहितका केही चिनियाँ कम्पनीमाथि दबाब बढाउनसक्ने बताएका छन् ।
अमेरिका र चीनबीच विभिन्न विषयमा विवाद जारी रहँदा ट्रम्प चिनियाँ कम्पनीहरु प्रति आक्रामक बन्दै गएका छन् । जसको फलस्वरुप ट्रम्पले यसअघि नै हुवावे, टिकटकजस्ता चर्चित चिनियाँ एप तथा प्रविधि कम्पनीमाथि अमेरिकामा प्रतिबन्ध लगाइसकेका छन् ।
अमेरिकाले चिनियाँ सामग्री विश्वका कुनै देशले प्रयोग गर्न नहुने धाराणा राख्दै आएको छ।
त्यस्तै शनिबार एक पत्रकार सम्मेलनमा बोल्ने क्रममा ट्रम्पले अलिबाबासहितका केही चिनियाँ कम्पनीमा पनि प्रतिबन्ध लगाउनसक्ने बताएका छन् ।
अमेरिकी सरकारको अनुसार टिकटक र हुवावे अमेरिकी सुरक्षाका लागि खतरा भएको र यी कम्पनीमाथि चिनियाँ सरकारको जासुसीको माध्यमको रुपमा काम गरेको आरोप रहेको छ ।