कोरोना संक्रमणबाट विराटनगरकी एक महिलाको मृत्यु
Sunday, August 16th, 2020, 11:12 am
विराटनगर, ३२ साउन । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा विराटनगर तीनपैनीकी महिलाको ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
डा. सापकोटाका अनुसार कोरोना संक्रमित ५० वर्षीया महिलालाई विराटनगरको न्यूरो अस्पतालबाट अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि शनिबार धरान रिफर गरिएको थियो तर उनको आइतबार बिहान १२ बजेर ३० मिनेटमा मृत्यु भएको हो ।
ती मृतक महिलामा दीर्घकालीन रोगसँगै फोक्सो र थाइराइडको समस्या रहेको सापकोटाले बताएका छन् । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।