काठमाण्डौ उपत्यकाको चन्द्रागिरि नगरपालिकाभित्र ५ हजार व्यक्तिको पीसीआर परीक्षण गरिने
Saturday, August 15th, 2020, 11:09 am
काठमाडौं, ३१ साउन । काठमाण्डौ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्र कोरोना संक्रमण बढ्दै गएपछि सो जोखिमलाई मध्यनजर गर्दै पाँच हजार व्यक्तिको पिसीआर परीक्षण गर्ने भएको छ ।
नगरपालिकाका प्रमुख घनश्याम गिरीका अनुसार प्रत्येक वडामा ३०० व्यक्तिका दरले पिसीआर परीक्षण गरिनेछ ।
नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पीसीआर परिक्षण गर्न लागिएको उनले बताएका छन् ।
यसैगरी नगरपालिकाभित्र ३४ जनामा कोरोना संक्रमण देखिसकेको छ भने त्यस्को जोखिमलाई कम गर्न नेपाली सेनाको सहकार्यमा सो परीक्षण गर्न लागेको हो ।
त्यस्तै सङ्क्रमितको उपचारका लागि नगरपालिका–१, दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको छ । यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेसन २०० शैयाको हुनेछ ।
हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ ।