बैंकका कर्मचारीमा कोरोना पुष्टि भएमा सम्पूर्ण खर्च बैंकले व्योहोर्नुपर्ने
Thursday, August 13th, 2020, 8:50 pm
काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले बिहीबार १४ बुँदे परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई कोरोना लागे सम्पूर्ण खर्च सम्बन्धित बैंकले नै बेहोर्नुपर्ने जनाएको छ ।
यसैगरी राष्ट्र बैंकका अनुसार संक्रमित कर्मचारीलाई अस्पतालमा, घरमा वा होटल जहाँ आइसोलेसनमा राखे पनि बैंकलाई नै खर्च गर्नुपर्नेछ र कोरोना संक्रमित कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा आएका कर्मचारीहरुलाई पनि बैंककै खर्चमा क्वारेनटाइनमा राख्नुपर्नेछ ।
त्यस्तै क्वारेनटाइन तथा आइसोलेसन अवधिभरको तलब तथा सेवा सुविधा दिने व्यवस्था समेत बैंकले गर्नुपर्नेछ ।
२ सय भन्दा बढी संक्रमित भएका जिल्लाका बैंक शाखाहरुलाई ५० प्रतिशत कर्मचारीमात्रै राखेर सेवा दिन राष्ट्र बैंकले निर्देश दिइसकेको छ भने सेवा दिदा बैंकहरुले सम्भव भएसम्म वर्क फ्रम होम वा सहज कार्य शैली (फ्लेक्जीवल वर्किङ मोडल) अपनाउन पनि निर्देशन दिएको छ ।