कलङ्की, कालीमाटी लगायत क्षेत्र १५ दिनका लागि अत्यावश्यक बाहेकका पसल बन्द
Thursday, August 13th, 2020, 3:51 pm
काठमाण्डौ, २९ साउन । उपत्यकामा गत केही हप्तादेखि कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन सुरुगरेपछि काठमाण्डौ महानगरपालिका वडा नम्बर १४ मा अत्यावश्यक बाहेकका सबै पसल बन्द गरिएको छ ।
यसैगरी वडा कार्यालयले प्रेस विज्ञप्ति निकालेर आफ्नो क्षेत्रमा समुदायमा नै कोरोना फैलिसकेको निष्कर्ष निकालेर बिहीबारदेखि अत्यावश्यक बाहेकका पसल नखोल्ने निर्णय गरेको हो ।
विज्ञप्तिमा उल्लेख गरिए अनुसार केही दिनअघि मात्र क्यासेट पसलका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने पछि कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा अन्य व्यक्तिमा पनि सङ्क्रमण भेटिएको छ ।
त्यस्तै (आज) बिहीबारदेखि १५ दिनसम्म वडा नम्बर १४ का कलङ्की, कालीमाटी, खड्का गाउँ, कुलेश्वर, बल्खु खोलासम्मका पसल तथा गतिविधि बन्द गरिएको वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिएकी छिन् ।
वडाको निर्णयअनुसार फलफुल तथा तरकारी व्यवसायीले बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र पसल खोल्न पाइनेछ भने औषधिलगायत खाद्यान्न खुद्रा व्यवसायीले दुरी कायम गरेर मात्र दिनभर पसल खोल्न पाउने छन्।