औषधि व्यवस्था विभागले दियो कोरोनाका गम्भीर बिरामीमा रेमडिसिविर औषधि प्रयोग गर्न अनुमति
Wednesday, August 12th, 2020, 8:26 pm
काठमाडौं, २८ साउन । औषधि व्यवस्था विभागले कोरोना संक्रमितमा क्लिनिकल ट्रायलका लागि इच्छुक अस्पताल तथा अनुसन्धान संस्थाहरुलाई रेमडिसिविर नामक औषधि प्रयोगको अनुमति दिएको छ ।
विभागले सो औषधिको क्लिनिकल परीक्षण एवम् अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि इच्छुक रहेका अस्पताल तथा अनुसन्धान संस्थाहरुलाई निवेदन दिन आग्रह गर्दै सूचना प्रकाशित गरेको हो ।
त्यस्तै यो औषधिको प्रयोग कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका बिरामीको ज्यान बचाउन लागि गरिन्छ भने गम्भीर अवस्थामा रहेका बिरामीका स्वास्थ्य स्थितिमा छिटो सुधार गर्न मद्दत पुर्याउने चिकित्सकहरुले बताएका छन् । तर यो कोभिड १९ लाई भने निको बनाउने औषधि भने होइन ।
विभागले औषधि चलाउने विभागहरुको नाम उपलब्ध गराउने बित्तिकै यसको क्लिनिकल परीक्षण सुरु गर्न सकिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताएका छन् ।
अमेरिकाले वैशाख २० तथा दक्षिण कोरिया र भारतले जेठ २१ गते कोरोना संक्रमणका गम्भीर बिरामीमा रेमडिसिविर प्रयोग गर्न अनुमित दिएको थियो । रेमडिसिविर हालसम्म उपलब्ध औषधिमध्ये सबैभन्दा प्रभावकारी एन्टिभाइरल औषधि मानिन्छ । यो इबोलाको उपचार गर्न बनाइएको औषधि हो ।
कोरोना संक्रमणपछि गम्भीर अवस्थामा रहेका विराटनगरका एक चिकित्सकलाई प्लाज्मा थेरापीअघि यो औषधि दिइएको थियो तर ती बिरामीका परिवारले प्लेन चार्टर गरेर भारतबाट सो औषधि नेपाल ल्याएको थियो ।
नेपालमै जटिल प्रकारका कोरोना संक्रमितहरु देखिँदा समेत औषधि ल्याउन विभागले अनुमति नदिएको भन्दै स्वास्थ्य क्षेत्रबाट यसको आलोचना हुँदै आएको थियो । स्वास्थ्य मन्त्रालयले कोभिड १९ को उपचारका लागि जारी गरेको निर्देशिकामा समेत आपतकालीन अवस्थामा यो औषधि प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ ।
यो औषधिको उत्पादन भारत र बंगलादेशमा हुने गर्दछ ।