विराटनगरमा विद्युत प्राधिकरणका एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु
Wednesday, August 12th, 2020, 7:17 pm
विराटनगर, २८ साउन । विराटनगरमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार विराटनगर महानगरपालिका ३ का ५७ वर्षीय पुरुषको उपचारका क्रममा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमो मृत्यु भएको हो ।
उनलाई सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो भने उनी नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् ।
सोमबार कोशी अस्पताल हुँदै कोभिड– १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो भने मधुमेह तथा उच्च रक्तचापको बिरामी रहेका उनलाई कोरोना संक्रमण देखिएपछि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
त्यस्तै बुधबार बिहानसम्म उनको अवस्था सामान्य रहेतापनि दिउँसो अवस्था गम्भीर बन्दै गएको थियो । कोभिड १९ उपचार केन्द्र विराटनगर प्रमुख डा. दीपक सिग्देलका अनुसार उनको मृत्यु दिउसो ४ बजे भएको हो ।
विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु भएसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।