घुस लिएको आरोपमा काभ्रे र सिन्धुलीका ५ सहित ६ जना प्रहरी निलम्बित
Wednesday, August 12th, 2020, 4:11 pm
काभ्रे, २८ साउन । सेवाग्राहीसँग घुस लिएको आरोपमा ६ जना प्रहरी निलम्बनमा परेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयले घुस लिएको आरोपमा काभ्रेको एक र सिन्धुलीको पाँचसहित ६ जना प्रहरीलाई निलम्बन गरेको छ ।
त्यस्तै बुधबार बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरुलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
राजमार्गमा प्रहरीले सेवाग्राहीसँग मासिक रकम असुल्ने जानकारी पटक–पटक सुन्दै आएको थियो भने यसबारे सोध्दा प्रहरी अधिकृतहरूले आधारहिन हल्ला मात्र भएको बताउँदै आएका थिए । यसैगरी कार्यालयबाट खटिएका विशेष टोलीले बुधबार घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेपछि उनीहरुले सेवाग्राहीसँग रकम लिएको पुष्टि भएको छ ।
निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय काभ्रे अन्तर्गतको इलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नवीन बहादुर थापा, सिन्धुलीका प्रहरी हवल्दार राजकुमार श्रेष्ठ, डोरबहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह, धीरेन्द्र साह र राम कुमार थापा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा सुचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताएका छन् ।
त्यस्तै बागमती प्रदेश प्रहरी कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न डिएसपी विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।