कोरोना संक्रमित भारतीय पूर्वराष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर
Tuesday, August 11th, 2020, 6:59 pm
एजेन्सी, २७ साउन । भारतको नयाँ दिल्लीको एक सैन्य अस्पतालमा भर्ना भएका भारतीय पूर्वराष्ट्रपति प्रणब मुखर्जीको अवस्था निकै चिन्ताजनक भएको बताइएको छ ।
भारतको नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा उनको ब्रेन सर्जरी भएको थियो । अस्पतालका अनुसार उनको अवस्था अहिले चिन्ताजनक छ र उनलाई भेन्टिलेटरको सपोर्टमा राखिएको छ ।
पूर्वराष्ट्रपति मुखर्जी स्वयंले सोमबार ट्विट गर्दै आफू कोरोनाभाइरस संक्रमित भएको जानकारी दिएका थिए ।
भारतका राष्ट्रपति रामनाथ कोविन्दले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् भने भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि नयाँ दिल्लीको सैनिक अस्पतालको भ्रमण गरी मुखर्जीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
त्यस्तै भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि मुखर्जीको स्वास्थ्यलाभको कामना गरेका छन् ।