क्वरेन्टिनबाट फर्किएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि भुटानमा पहिलो पटक लकडाउन
Tuesday, August 11th, 2020, 5:40 pm
एजेन्सी, २७ साउन । भुटानमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि त्यहाँको सरकारले पहिलो पटक देशभर लकडाउन घोषणा गरेको छ।
क्वरेण्टीनबाट डिस्चार्ज भएर घर फर्किएकी एक २७ वर्षीया युवतीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भुटानमा लकडाउन घोषणा गरेको हो ।
ती युवती कुवेतबाट फर्केर क्वरेन्टिमा बसेकी थिइन र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई क्वरेन्टिनबाट डिस्चार्ज गरिएको थियो । तर सोमबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ देखिएपछि लकडाउन गरेको भुटानको सरकारले जनाएको छ ।
स्थानीय प्रशासनका अनुसार राजधानी क्षेत्रमा सङ्क्रमणको दर तीव्र गतिमा फैलिन सक्ने हुँदा लकडाउनलाई विकल्पको रुपमा लिइएकोे हो ।
झण्डै साढे सात लाख जनसङ्ख्या रहेको भुटानका दक्षिण एसियाली राष्ट्रमध्ये कोरोनाबाट सबैभन्दा कम प्रभावित देश हो । त्यहाँ अहिलेसम्म १ सय १३ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।