कोरोना भाइरसको भ्याक्सिन तयार पारिसकेका छौ : पुटिन
Tuesday, August 11th, 2020, 4:28 pm
एजेन्सी, २७ साउन । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको भ्याक्सिन बनाउन अहिले विश्वमा एक दर्जनभन्दा बढी देशहरु लागिपरेका छन् भने यहीबीच रुसले आफूले कोरोनाभाइरस भ्याक्सिन बनाइसकेको दाबी गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोनाभाइरस भ्याक्सिन बनाइसकेको दाबी गरेका छन् भने यो भ्याक्सिन सबैका लागि उपयुक्त हुने पनि बताएका छन् ।
राष्ट्रपति पुटिनका अनुसार आज मंगलबार कोरोनाभाइरस भ्याक्सिनको पहिलो परीक्षण गरिएको छ भने यसका लागि दुई महिनादेखि रुसी वैज्ञानिकहरु परीक्षणमा लागिरहेका छन् ।
रुसले तयार गरेको यो भ्याक्सिनमाथि पश्चििमी मुलुकहरुले आशंका व्यक्त गरेता पनिे सो भ्याक्सिन मानिसहरुमा प्रयोग गर्नका लागि अनुमति दिइसकेको छ । उक्त भ्याक्सिन रुसमा धेरै मानिसमा दिन शुरु गरिएको रुसको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
रुसी राष्ट्रपति पुटिनले सरकारी टिभीमार्फत घोषणा गर्दैे यो भ्याक्सिन पूर्णरुपमा सुरक्षित भएको र उनकी छोरीमा पनि यसको प्रयोग भइसकेको जानकारी दिएका छन् ।
रुसले तयार पारेको सो भ्याक्सिन निकै महत्वपूर्ण हुनुका साथै मानिसको इम्युन सिस्टम बलियो पनि बनाउने विषयका बारे थाहा भएको राष्ट्रपति पुटिनले बताएका छन् ।