गोंगबु हत्या प्रकरणका मुख्य अभियुक्त प्रहरीद्वारा सार्वजनिक
Tuesday, August 11th, 2020, 2:20 pm
काठमाण्डौ, २७ साउन । गोंगबुमा सुट्केसभित्र भेटिएको शवको हत्या गर्ने प्रमुख अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेपछि उक्त हत्याकाण्डको वास्तविकता बाहिरिएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनको कालिकानगर नगरपालिका ७ घर भई काठमाण्डौ गोङ्गबुमा बस्दै आएकी कल्पना मुडभरी पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले पक्राउ गरेपछि उनले आफ्नो अपराध स्वीकार गरेपछि शव पहिचान भएको भोलिपल्टै घटनाको यथार्थ बाहिर आएको छ ।
त्यस्तै सो हत्यामा संलग्न कलपना मुडभरी पौडेललाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ परेकी मुडभरीले प्रहरीलाई बयान दिने क्रममा आफ्नो अपराध स्वीकार गरिसकेकी छिन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार उनले नक्कली फेसबूक अकाउन्ट बनाएर निर्वस्त्र तस्वीरहरू पठाउने गरेको र पछि मृतकलाई कोठामा बोलाएर हत्या गरेको बयान उनले दिएकी छिन् ।
मुडभरीले दिएको बयानअनुसार दहीचिउरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएर बेहोस पारेपछि अण्डकोषमा हानेर मारेकी थिइन् ।
यसैगरी उनको छोरीले भने शव व्यवस्थापनमा मुडभरीलाई सघाएको बयान दिएको प्रहरीले बताएको छ ।